कहिले खुलामञ्चमा राजधानीबासीलाई गाली गरेको अर्को दिन माफी मागेर अथवा, आन्दोलनका बेलामा दलहरुलाई गाली गरेको केही दिनमै माफी माग्ने परिचय नै बनाइसकेका माओवादी अध्यक्ष प्रचण्डको रोग अब अन्य नेताहरुलाई लाग्न थालेको छ । त्यसो त यो रोग नौलो होइन, कुनैपनि नेताका लागि पनि ।
धेरै नेताका लागि यो नौलो नहुनुपर्ने कारण के भने मन्त्री हुँदा वा अन्य धेरै प्रतिबद्धताका क्रममा बोलेका कुरा लागु गर्न धेरैजना असफल भए । त्यही भएर अहिले संविधानसभाको म्याद सकिने बेलामा शीर्ष नेताहरुले राजनीतिबाट सन्यास लिनुपर्छ भनेर माग आउन थालेको छ, खासगरी बौद्धिक वर्गबाट ।
तर यहाँ जोड्न खोजिएको विषय भनेको प्रतिबद्धता लागु नभएको भन्ने होइन, बरु बोलेपछि होस् नपाउने नेताहरुको संख्या बढ्न पो थालेको छ । यही क्रममा नेकपा एमालेले विज्ञप्ति नै जारी गरेर आफ्नै शीर्ष नेताको भनाईको खण्डन गरेर पार्टीको अस्तित्व जोगाइराख्नुपर्ने अवस्था आएको छ । वा भनौं नियति नै भएको छ ।
माओवादीलाई खुशी बनाउन मात्रै आफूले संविधानसभा स्वीकारेको भन्ने प्रधानमन्त्री माधवकुमार नेपालको अभिब्यक्ति पार्टी निर्णय विपरित भएको एमालेले जनाएको छ । हुन त माओवादीले सरकारमा जाने सपना त्यागोस् भन्ने अपेक्षासहित यो भनाई आएको थियो होला, तर बुमर्याङजस्तै असर आफ्नै पार्टीमा पर्यो ।
एमाले सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तीमा केन्द्रीय कमिटीको निर्णर्यका आधारमा एमालेले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको मागलाई प्रमुख नाराका रुपमा अघि सारेको भन्दै प्रधानमन्त्रीको भनाइबाट भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ । बाफ रे बा, प्रधानमन्त्रीले भ्रममा पार्ने ठहर गरेको आफ्नै पार्टीले ठहर गर्छ भने माधव नेपाल किन कुर्सीमा टाँसिएका होलान्, बुझिनसक्नु छ ।
यो त एमालेको तर्फबाट आएको स्पष्टीकरण भयो, यतिमात्र होइन, स्वयं प्रधानमन्त्रीले पनि आत्मालोचना गरेका छन् आफ्नै भनाईबारे । संविधानसभाले समयमै काम नगरेपछि जनताको दबाब खाने डरले हो कि, नेताहरुले तिरीमिरी देख्न थालिसके । -महेन्द्र । एक कार्यक्रममा प्रम नेपाल ।