आमहडतालको तीन दिन बितेदेखि नै छनक मिलेको थियो कि, माओवादीहरु एकाएक पत्रकारप्रति आक्रामक बन्दैछन् । खाइ न पाइ टिभी र रेडियोमा जतिबेला पनि आन्दोलनकै लाइभ । पत्रपत्रिकाहरुमा ठुला ठुला अक्षरमा समाचार छापिंदा पनि माओवादीलाई नपुगेपछि भटाभट आक्रमण गर्न थाले । आमहडतालका बला त्यति बाक्लिएको थिएन, आक्रमण । त्यो बेलामा राति राति वा अप्रत्यक्ष रुपमा आक्रमण गर्ने माओवादीहरुले पछिल्लो समय भने दिउँसै सबैका अगाडि कुटपिट गर्न थालेका छन् ।
यही क्रममा एकीकृत माओवादीले गरेको सिंहदरवार घेराउका क्रममा माइतीघर मण्डला क्षेत्रमा भएको झडपमा प्रहरी, प्रदर्शनकारी र संचारकर्मी सहित दर्जनौं घाइते भएका छन । माइतीघर मण्डला हुँदै बाटो हिंडिरहेका एक सर्वसाधारणलाई माओवादी कार्यकर्ताले भिजिलान्ते भन्दै आक्रमण गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी प्रहरी नायव उपरीक्षक भोला रावलको टाउको फुटेको छ । झडपमा माओवादी सभासदद्वय सीता बौडेल र इन्द्रमाया गुरुङल पनि घाइते भएका छन् ।
माइतीघरमै माओवादीले ईमेज च्यानलका क्यामेरापर्सन कुमार कटवालमाथि ढुंगा प्रहार गरेका छन् भने माओवादी कार्यकर्ताको प्रहारबाट अमेरिकी समाचार एजेञ्सी एपीका काठमाडौंस्थित फोटो पत्रकार प्रवीण महर्जनको टाउको फुटेको छ । त्यस्तै झडपको दृष्य खिचेको भन्दै एभिन्यूज टेलिभिजनका क्यामरापर्सन रबीन्द्र श्रेष्ठलाई पनि माओवादी कार्यकर्ताले कुटपीट गरेका छन भने उनको साथमा रहेको क्यामरा पनि फुटाइदिएका छन ।
जानकारहरु भन्छन् यो आमहडताल र आन्दोलनका क्रममा आफ्नो पक्षमा समाचार प्रकाशन प्रसारण नगर्ने सञ्चारमाध्यमको माओवादीले नामको सूची नै तयार पारेको छ अरे आक्रमणका लागि । यस्ता आरोपले माओवादीलाई पनि र सञ्चार क्षेत्रमा नराम्रो असर पर्ने भएकोले यसबारे तुरुन्त स्पष्ट पार्नु जरुरी छ, माओवादी नेतृत्वले । तर किन हो मौन बसेको अवस्था बुझ्न समय लाग्ला नै ।
माओवादी कार्यकर्ताहरु अन्य दलका मान्छे, सुरक्षाकर्मी र पत्रकारप्रति मात्रै होइन, माओवादीहरुले भद्रकाली क्षेत्रमा भने आफनै कार्यकर्तालाई कुटपिट गरेका छन् । सिन्धुपाल्चोकका वाइसीएल कार्यकर्ता विष्णु कार्कीलाई माओवादी कार्यकर्ताले भिजिलान्तेको आरोपमा कुटेका थिए । कुट्दाकुट्दै थाहा भयो रे, आफ्नै कार्यकर्ता भन्ने । आफ्नै कार्यकर्ता कुटेको होस नपाउनेले अरु समुदायका मान्छेलाई कसरी कुट्ने रहेछन् यहींबाट अनुमान गर्न सकिन्छ । आमहडताल पछिको आमसभामा प्रचण्डले काठमाण्डौंका सुकिला मुकिला र पत्रकारलाई निकै गाली गरेपछि कार्यकर्ता अब किन उपद्रो मच्चाउन्नथे र । कार्यकर्ता पनि पत्रकारविरुद्ध उत्रन पाए खुशी छन् कि भनेजस्तो, प्रचण्डले पत्रकारविरुद्ध बोल्दा खुबै ताली हानेका थिए । -महेन्द्र । तस्वीरमा, सिंहदरबार घेराउ गर्दै माओवादी कार्यकर्ता ।