ढीलै गरेर भए पनि एमाओवादीले जनताको नाममा जनतालाई नै महासास्ती दिने जनविरोघी आमहडताल फिर्ता लिएर दुई कदम पछि हटेको छ। उसले यो जनद्रोही आमहडताल फिर्ता लिएको कारण प्रकटमा जेसुकै भने पनि उसैको भाषामा प्रतिगामी, प्रतिकृयावादी, यथास्थितिवादी, सत्तापालित मण्डले-कुण्डलेहरुको कायरतापूर्ण षडयन्त्र हो कि, शान्तिकामी जनताको साहसिक प्रतिरोघ हो कि, विदेशी प्रभूहरुले दिएको ४८ घन्टे अल्टिमेटम हो, त्यो पछि खुल्दै जाने नै छ। उसले आम हडताल मात्र फिर्ता लिएको भनेको छ, उसको आन्दोलन जारी नै छ। जायज कारण सहित आन्दोलन गर्ने उसको अधिकार प्रति कसैको विरोध विमति छैन, हुनु पनि हुँदैन। परन्तु उसले आफ्नो आन्दोलनले जनताको हिंडडुल र यातायात संचालनमा वाधा नपुगोस भन्ने राम्रै हेक्का राखोस, फेरि जनताको प्रतिरोध खेप्ने नौवत नआओस भनी सचेत गर्न चाहन्छु।
यसै गरी आफ्नो अस्तित्व वा बर्चस्व देखाउन र झिनामसिना माग पूरा गराउन पनि सर्वसाधारण जनतालाई सास्ती दिने, काम गरी खान, हिंडडुल गर्न, पठनपाठन गर्न र शान्तिपूर्वक बाँच्न पाउनु पर्ने सर्वसाधारण जनताको मौलिक मानव अधिकार हनन हुने यस्तो बन्द हडताल गर्न खोज्ने अन्य पार्टी तथा समुहहरुले पनि यसबाट गंभीर पाठ सिक्नु पर्छ र जनताको साथ, समर्थन एवं सहानुभूति पाउने आन्दोलनका उपायहरु अपनाउनु पर्छ। जनताले पनि आफू विरुद्ध हुने यस्ता अत्याचारलाई अहिले जस्तै डटेर प्रतिरोध गर्नु पर्छस जसले जे गरे पनि सहेर बसे लुते कुकुरले पनि हेप्छ भन्ने कुरालाई सँधै सम्झनु पर्छ। एमाओवादीको यस जनविरोधी आमहडतालको विरोध र प्रतिरोधमा उत्रेका देशभरका साहसिक जनसमुदायलाई मेरो लाल सलाम१
बलराम थापा